त्रिविमा प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण बढ्यो, मानविकी संकायमा न्यून

0
162
#

पुस २७,

काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा मानविकी संकाय अन्तर्गतका विषयमा विद्यार्थीको संख्या घट्दो अवस्थामा रहेपनि प्राविधिक शिक्षातर्फ भने आर्कषण बढेको छ । त्रिविका अनुसार प्राविधिक विषयजस्तै इन्जिनियरिङ, चिकित्साजस्ता संकायहरुमा विद्यार्थीको चाप बढेको छ । त्रिवि योजना निर्देशनालयका प्रमुख प्रा. डा. ऋदिशकुमार पोखरेलले प्राविधिकतर्फ इन्जिनीयरिङमा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने गरेको बताउँदै अन्य विषयमा पनि विद्यार्थीको संख्या उल्लेख्य रहेको जनाए ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले विज्ञान र व्यवस्थापनमा विद्यार्थी संख्या राम्रै रहेको बताउँदै भने, “मानविकी र शिक्षा संकायमासमेत ५० प्रतिशत सम्म विद्यार्थी रहेका छन् ।”

उनले विश्वविद्यालय क्याम्पसमा अन्य संकायको तुलनामा मानविकीको स्नातकोत्तर तहमा विद्यार्थी घट्दै गएको बताउँदै भने, “यसको विपरीत प्राविधिकतर्फ यतिबेला विद्यार्थीको आकर्षण बढ्दो रहेको छ ।  विद्यार्थी त्यतातिर लागेर पनि मानविकीमा संख्या घटेको अनुमान गर्न सकिन्छ ।”

योजना दिर्नेशनालयका प्रमुख पोखरेलका अनुसार त्रिविमा प्राविधिकतर्फका ५ वटा अध्ययन संस्थानहरु चिकित्सा, वनविज्ञान, इन्जिनीयरिङ, कृषि र पशुविज्ञान तथा विज्ञान तथा प्रविधितर्फ शैक्षिक सत्र २०७१/०७२ मा इन्जिनीयरिङ अध्ययन संस्थानबाट २ हजार ८८, पशुविज्ञान अध्ययन संस्थानबाट २६९, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ४३, वन विज्ञान अध्ययन संस्थानबाट १३३ र विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ५ हजार ११३ जनशक्ति उत्पादन भएको छ ।

शैक्षिक सत्र २०७२/०७३ मा इन्जिनीयरिङ अध्ययन संस्थानबाट २ हजार २०८, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट २८५, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट १ हजार ४४७, वन विज्ञान अध्ययन संस्थानबाट २१७ तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ३ हजार ८९५ जनशक्ति उत्पादन भएको छ ।

प्रमुख पोखरेलका अनुसार त्रिविबाट वार्षिक औसत ७० हजार जनशक्ति उत्पादन भइरहेका छन् । आव २०७३/०७४ मा विभिन्न अध्ययन संस्थान र संकायगरी ६८ हजार ५७५ जनशक्ति उत्पादन भएका छन् । जसमा इन्जिनियरिङतर्फ २ हजार ३९३, कृषि र पशुपालनतर्फ ४३१, चिकित्साशास्त्रतर्फ २ हजार २७०, वन विज्ञानतर्फ २४० र विज्ञान तथा प्रविधितर्फ ४ हजार ३५४ जनशक्ति उत्पादन भएको छ ।

प्रमुख पोखरेलले २०७५/०७६ को प्राथमिकतामा रहेको कार्यक्रमबारे बताउँदै भने, “कृषि तथा पशु विज्ञान, वन विज्ञान, चिकित्सा शास्त्र र इन्जिनियरिङ शिक्षालाई विस्तार गरिनेछ । रोजगारी तथा उद्यमशीलता उन्मुख विषयहरुलाई प्राथमिकताका साथ विकास तथा विस्तार गर्ने योजनामा छौं । ”

उनले व्यवसायिक तथा व्यवहारिक शीपमुलक शैक्षिक कार्यक्रम विकासको लागि स्थानीय सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्ने जनाए । योजना निर्देशनालयका प्रमुख पोखरेलले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकताकासाथ अगाडि बढाउने नीति अनुरुप त्रिविले प्राविधिक विकासको लागि १० करोड विनियोजन गरी ‘फ्रि वाइफाइ जोन’ बनाउने काम भइरहेको जानकारी दिए ।

LEAVE A REPLY