आगामी आ.ब. देखि सवारीसाधनमा युरो ४ मापदण्ड लागु हुने, के हो युरो ४ मापदण्ड ?

0
201
#

फागुन ०८,

काठमाडौं : सरकारले युरो ४ मापदण्ड कायम गरेर मात्रै सवारीसाधन आयात र दर्ता गर्ने योजनाका साथ तयारी सुरु गरेको छ ।

आगामी आर्थिक वर्षबाट युरो ४ मापदण्ड कायम गर्ने गरी वन तथा वातावरण मन्त्रालयले गृहकार्य गरिरहेको छ । मन्त्रालयले मापदण्ड कायम गर्नका लागि प्रारम्भिक ड्राफ्ट समेत तयार पारिसकेको छ । मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा कार्यदल बनाएर प्रारम्भिक ड्राफ्ट तयार पारिएको हो । अहिले सरोकारवाला निकाय, अटो व्यवसायी, यातायात लगायतका निकायसंग निरन्तर छलफल गरिरहेको मन्त्रालयले जनाएको छ ।

सबै निकायसंग छलफल गरेर उक्त ड्राफ्टलाई फाइनल गरिने मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुङगानाले जानकारी दिए। ‘हामीले वातावरणीय हिसावले ड्राफ्ट तयार पारेका छौं, कमर्सियल तथा अन्य हिसावले पनि हेर्नुपर्ने हुन्छ। सरोकारवाला निकायसंग छलफलमा छौं’- उनले भने ।

अहिले बनेको प्रारम्भिक ड्राफ्ट अनुसार दुई पाङग्रे, चार पाङग्रे सबै सवारीसाधनका लागि यो मापदण्ड लागु हुन्छ । सरोकारवाला सबै निकायसँग छलफल गरेर फाईनल भएपछि मन्त्रीस्तरीय निर्णयबाट मापदण्ड कायम गर्ने निर्णय हुनेछ ।

विकसित र युरोपेली राष्ट्रहरु सवारी साधनमा युरो मापदण्ड ६ सम्म अपनाउन थालिसकेका छन् । नेपालमा गाडी आयात गरिने छिमेकी देश भारतले समेत युरो मापदण्ड ४ भन्दा कमका सवारीसाधन दर्तामा रोक लगाइसकेको छ ।

भारतले सन् २०२० सम्ममा युरो मापदण्ड ६ कायम गर्ने घोषणा गरिसकेको छ । हाल नेपालमा सवारीसाधन आयात गर्दा युरो ३ मापदण्ड अनिवार्य गरिएका कारण सोही मापदण्डको सवारीसाधन भित्रिइरहेका छन् । युरो ४ मापदण्डका सवारीसाधन वातावरणीय दृष्टिकोणले उत्कृष्ट मानिन्छ ।

उक्त प्रारम्भिक ड्राफ्ट अनुसार नेपालमा आयात गरिइसकेका युरो मापदण्ड ३ का सवारीसाधनहरुको प्रदुषण कडाईका साथ जाँच गरिने छ । प्रदुषण जाँच गराएर हरियो स्टिकर नलिएका सवारीसाधन संचालनमा रोक लगाउने तयारी छ ।

यातायात व्यवस्था विभागले हरियो  स्टिकर अनिवार्य गरेको छ । प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्दा ५० प्रतिशतभन्दा बढी सवारीसाधन प्रदुषण जाँच नै नगराई संचालनमा छन् । सार्वजनिक सवारीसाधनले बर्षमा दुई पटक र निजी सवारीसाधनले एक पटक प्रदुषण जाँच गराउनुपर्ने नियम छ ।

नेपाली व्यवसायीहरुले गरेको मागका आधारमा अटो उत्पादन गर्ने  कम्पनीहरुले युरो ३ को इन्जिन राखेर सवारीसाधन पठाउने गरेका छन् । ३ मापदण्डको सवारीसाधन उत्पादन लागत तुलनात्मक रुपमा कम पर्छ ।

के हो युरो ४ मापदण्ड ?

वातावरण मन्त्रालयका मेकानिकल इन्जिनियर तुलसी नारायण महर्जन अनुसार युरो मापदण्ड सवारीसाधनले उत्सर्जन गर्ने हानिकारक ग्यासको तह हो । युरोपेली उत्सर्जन मापदण्ड (युरोपियन ईमिशन स्ट्याण्डर्ड) अनुसार वर्गीकरण गरिएको हुन्छ ।

यो मापदण्डमा युरो १ देखि ६ सम्मको तह निर्धारण गरिएको छ जसलाई अन्तराष्ट्रिय स्तरमै मान्यता दिएको पाईन्छ । यसमा कार्बनडाईअक्साईडका अतिरिक्त नाइट्रोजन अक्साईड,कार्बन मोनोअक्साईड, हाईड्रो कार्बन नाइट्रोजन अक्साईड लगायतका ग्यासको मापन गरिन्छ । ५/६ वटा मापदण्ड राखेर मापन गरिने महर्जनले जानकारी दिए।

२०५६ साल देखि नेपालमा आयात गरिने हुने सवारीसाधनमा युरो मापदण्ड १ लागु गरिएको थियो । त्यसपछि दुई हुँदै २०६९ सालमा युरो मापदण्ड ३ लागु गरिएको थियो ।  नेपाल आयल निगमले पनि अहिले युरो ४ स्ट्याण्डर्डको तेल मात्रै विक्री वितरण गरिरहेको छ ।

LEAVE A REPLY