अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या आकाशियो, परामर्श दिदैन मन्त्रालय

0
60
#

फागुन १७,

काठमाडौं : अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या पछिल्ला २ आर्थिक वर्ष (आव)मा एकाएक बढेको छ । प्रतिवर्ष २ हजारको हाराहारीमा बढ्दै आएको यो संख्या आव २०७३/७४ र २०७५/७६ मा अप्रत्याशित रूपमा बढेको हो ।

अघिल्लो वर्षको तुलनामा आव २०७३/७४ मा १८ हजार १७० जना बढी विद्यार्थीले शैक्षिक भिसाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) लिएका छन् । उक्त आवमा कुल ५० हजार ६५९ जनाले एनओसी लिएका छन् । यस्तै, आव २०७४/७५ मा ५८ हजार ७५८ जनाले एनओसी लिएका छन् ।

चालू आव २०७५/७६ को ७ महीनामा ४१ हजार २४६ जनाले एनओसी लिइसकेका छन् । उक्त संख्या औसतमा झन्डै ६ हजारजना प्रतिमहीना हुन आउँछ । यही अनुपात कायम रहे चालू आवमा उच्च शिक्षाका लागि विदेश जान एनओसी लिनेको संख्या ७० हजार नाघ्ने सम्भावना छ ।

छैन परामर्श
एनओसी दिएबापत मन्त्रालयले प्रतिविद्यार्थी २ हजार रुपैयाँ शुल्क लिन्छ । विद्यार्थीको विदेशिने दर आकाशिइरहे पनि उनीहरूको उचित मार्गदर्शनका लागि मन्त्रालयले केही गरेको छैन ।

मन्त्रालयले परामर्श दिन नमिल्ने सहसचिव तथा प्रवक्ता बैकुण्ठप्रसाद अर्याल बताउँछन् । ‘आफ्ना विद्यार्थीलाई स्वदेशमै टिकाउने मन्त्रालय अर्थात् सरकारको दायित्व हो,’ उनी भन्छन्, ‘त्यसैले एनओसी लिन आउने विद्यार्थीलाई परामर्श दिने काम मन्त्रालयले गर्न सक्दैन ।’ राजस्व लिने तर परामर्श नदिने प्रवृत्ति सरकारले अवलम्बन गरेकै कारण शैक्षिक परामर्श केन्द्रमार्फत विद्यार्थीलाई झुक्याइने जोखिम छ ।

स्वदेशी शिक्षाप्रति वितृष्णा

केशव पुरी
अध्यक्ष, अभिभावक संघ नेपाल

स्वदेशी शैक्षिक संस्थामा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम र वातावरण नभएका कारण उच्च शिक्षाका लागि विदेशिनेको संख्या बढेको हो । सन्तान विदेशमा पढ्न पठाए मात्रै समाजमा हुनेखानेको स्तर पाइने मानसिकताका कारण घर, जग्गा बेचेरै पनि पठाउने अभिभावक प्रशस्तै छन् । शैक्षिक स्तरभन्दा भनसुन र लेनदेनका आधारमा रोजगारी पाउने अवस्थाले पनि विद्यार्थीलाई स्वदेशमै पढ्ने कुरामा वितृष्णा जगाएको छ ।

कन्सल्टेन्सीको प्रचारले घ्यू थप्यो

रमेश सिलवाल
अध्यक्ष,
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)

विद्यार्थी टिकाउन नसक्नु नेपालका शैक्षिक संस्थाहरूको कमजोरी हो । साथै, विदेशी शिक्षा लिने तथा उतैको नागरिक बन्ने चाहनाले पनि विदेशिने संख्या बढेको छ । यसमा देशको शिक्षा नराम्रो र विदेशको उल्कै राम्रो भनेर कन्सल्टेन्सीले गर्ने प्रचारले पनि घ्यू थप्ने काम गरेको छ । देशमा राजनीतिक स्थिरता, शान्ति सुरक्षा र रोजगारीको सुनिश्चितता हुने हो भने विदेशिने संख्या घट्छ ।

LEAVE A REPLY