शंखेकिराबाट तरकारी जोगाउन समस्या

0
87
#

रामपुर (पाल्पा), साउन १९ गते   । शंखेकिराले तरकारी बालीमा आक्रमण गर्न थालेपछि रामपुरका कृषकलाई तरकारी बाली जोगाउन समस्या परेको छ । तरकारीको बोटको माथिल्लो भागमै पुगेर शंखेकिराले डाँठ र पातलाई सखापै पार्न थालेपछि कृषक चिन्तित बनेका छन् । रामपुर नगरपालिका–६ को तिलकपुर, कौवा, प्याक्लुक, विजयपुरलगायतका क्षेत्रमा यतिबेला शंखेकिरा छरपस्ट मात्रामा भेटिन्छन् । कृषकले लगाएका लहरे जातका तरकारी बालीमा आक्रमण गरी बाली नै सखापै बनाउन थालेपछि कृषक चिन्तामा परेका हुन् ।

बस्ती बढ्दै गएको रामपुरको बजार क्षेत्रलाई मध्यनजर गर्दै विस्तारै व्यवसाय उन्मुख हुँदै गरेका कृषकलाई शंखेकिराबाट बालीनाली कसरी जोगाउने भन्ने समस्याले पिरोलेको छ । तरकारी लगाएपछि दुई चार पात हुन नपाउँदै बोटमै शंखेकिराले आक्रमण गरी बिरुवामा ठूलो हानिनोक्सानी पु¥याएको छ ।

घरायसी प्रयोजनका लागि होस् या बिक्रीका लागि लगाइएका तरकारी बालीको बोट नै आक्रमण गरेर पात खाने, डाँठ खाने गरेपछि बिरुवा सखापै हुँदै गएको कृषकको गुनासो छ ।

तरकारीको बिरुवा लगाएर दुई चार पात हँुदादेखि नै आक्रमण गरेपछि उत्पादन लिनै नसकिएको कृषक सीता देवकोटा बताउनुहुन्छ । “खेतबारी जताततै शंखेकिरा मात्र फैलिएको छ, तरकारी, फलफूल बाली लगायो, शंखेकिराले आक्रमण गरेर उत्पादन लिन पाइँदैन” उहाँले भन्नुभयो ।

तरकारीखेती गर्दै आइरहेका यहाँका कृषकले शंखेकिराको आक्रमणबाट अब व्यवसाय नै छाड्ने मनसायमा रहेका छन् । शंखेकिराले आक्रमण नगरेका बखत यहाँका कृषकले थोरै जग्गामा तरकारी लगाएर पनि राम्रो आम्दानी गर्न सफल भएको कृषक जगन्नाथ कँडेलले बताउनुभयो ।

“आम्दानी होला भनेर खेती गर्ने हो, आम्दानी लिन त परै जाओस् लगानी पनि उठाउन नसकिने अवस्था सिर्जना भएको छ” उहाँले भन्नुभयो । कँडेलले व्यावसायिक तवरले तरकारीखेती गर्दै आइरहनुभएको छ तर अहिले शंखेकिराको आक्रमणले व्यवसाय चलाउने कि छोड्ने भन्ने दोधारमा पर्नुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय, पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले चिस्यान भएको ठाउँमा शंखेकिराले छिटो आक्रमण गर्ने बताउनुभयो । उहाँले विशेष गरी शंखेकिराले लहरे जातका तरकारी, फलफूलमा बढी आक्रमण गर्ने बताउनुभयो ।

यसको न्यूनीकरणका लागि रातभरि पानीमा भिजाएको सुर्तीको झोल निकालेर साबुन पानीमा मिलाएर बिरुवामा छर्ने गर्नाले पनि शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिन्छ भने अर्को उपाय साबुन पानी र मट्टितेल मिलाएर पनि बिरुवामा छर्न सकिन्छ । यसो गर्नाले शंखेकिरा न्यूनीकरण भई बिरुवाको वृद्धि विकासमा ठूलो मद्दत पु¥याउँछ ।

यति गर्दागर्दै पनि शंखेकिराको प्रकोप कम नभएको खण्डमा तरकारीको बिरुवा लगाएको स्थान वरिपरि खाल्डो खनेर नुनलाई पुरिदिने गरेमा पनि कम गर्न सकिन्छ । अन्तिम न्यूनीकरणको उपाय भनेको शंखेकिरालाई नै जम्मा गरेर खाल्डोमा पुर्न सकेमात्र यसको प्रकोप न्यूनीकरण गर्न सकिने अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

कृषकले फाट्टफुट्ट मात्रामा शंखेकिरा देख्ने बित्तिकै न्यूनीकरणतर्फ खासै चासो नदिँदा पनि यसले फैलिने अवसर पाएको हो । शंखेकिराको प्रकोप देखा पर्न थालेपछि समयमा नै कृषकले घरेलु विषादी अपनाउन सके यसको न्यूनीकरण सहजै गर्न सकिने कृषि प्राविधिक बताउँछन् ।

LEAVE A REPLY